झापा / पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।
उन्को ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले एक करोड रुपैयाँ लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ ।
उनको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अष्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम पाँच लाख रुपैयाँ परेको छ ।
आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उनले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरुमा बङ्गुर र ब्रोइलर कुखुरा पालेका थिए । मेचीनगर–१० स्थित आफ्नै जग्गामा उनको बङ्गुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बङ्गुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बङ्गुर र कुखुरा फार्म बेचेको पूँजीसहित उनले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थालेका छन् । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।
यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी दुई हजार ५ सय दरले जिउँदै बिक्री हुने गरेको छ । उनका अनुसार बोयर जातका बाख्रा अष्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ । बोयर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उनले जानकारी दिए । तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ ।
पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन । पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ । उनले बोका भए तीन महिनामा प्रतिगोटा एक लाख २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म र पाठी भए एक लाख रुपैयाँसम्ममा बिक्री हुने बताए ।
यस व्यवसायबाट सन्तुष्ट उनले पाँच वर्षभित्रमा २०० बोयर बाख्राको माउ पालेर बीउ उत्पादन केन्द्रका रूपमा फार्मलाई विकसित गर्ने बताए । “हालसम्म कसैसँग एक पैसा पनि सहयोग र अनुदान लिएको छैन”, उनले भने, “आफ्नै पौरख र बैंकबाट ऋण लिएर झण्डै एक करोड रुपैयाँ खर्च गरेर फार्म सञ्चालन गरेको छु ।”