कैलाली / बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।
प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । उनका अनुसार गोलीका् प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।
आज बिहान पूर्वपश्चिम लोकमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।
सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले लोकमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् ।
प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।