बिराटनगर / झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका–६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी–५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ ।
यसैगरी झापाकै बुद्धशान्ति गाउँपालिका–३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको धरान उप–महानगरपालिका–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ का २३ बर्षीय सुवास आचार्य लागुऔषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।