ताप्लेजुङ  / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलामा उत्पादित गलैँचा बिक्री नहुँदा व्यवसायी मार्कामा परेका छन् । ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा चीनका विभिन्न बजारहरुमा खपत हुने भएकाले लक्डाउनले नाकाबन्दी भएका कारण १६ महिनादेखि गलैँचा बिक्री भएको छैन । 

सो क्षेत्रका स्थानीयवासी प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका  समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको छन् । 

OM Sai Pathibhara Hospital

हिमाली बस्ती ओलाङचुङगोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशाका रुपमा प्रत्येक घर परिवारमा गलैँचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ –६ टाँसी तेञ्जिङ शेर्पाले जानकारी दिए । 

लामो समयसम्म ओलाङ्चुङ्गोलाको टिप्ताला नाकाबन्दी खुल्न सकेको छैन । नाकाबन्दी हुँदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताए । 

उनले भने, “लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैँचा सदरमुकाम फुङ्लिङ बजारमा लगिएर बिक्री ग¥र्यो भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ ।” लकडाउनका समयमा बुनेको ५० थान गलैँचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले जानकारी दिए । 

एउटा गलैँचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा बिक्री हुने र सरदर हिसाब गर्ने हो भने नौ लाख ५० हजार रुपैयाँ बराबरको गलैँचा घरमै थन्क्याइएको छ । 

नाकाबन्दले सीमा गलैँचा बिक्री हुन नसकेर ओलाङचुङगोलामा प्रत्येक घरमा ३० थानको हाराहारीमा गलैंचा घरमा थन्काएर राख्न बाध्यता भएको फक्ताङलुङ – ७ का वडाध्यक्ष छेतेन भोटेले बताए । 

उनले भने, “ओलाङचुङगोला गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महीनादेखि नाकाबन्दले घरमै थन्क्याएर बस्नुपरेको छ ।” आफूले उत्पादन गरेको गलैँचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेले बताएका छन् । 

आलाङचुङ्गोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा पनि एक भएको व्यापारी तावा च्युङदाक शेर्पाले बताए । लामो समयसम्म पनि नाका खोल्ने दुईतर्फ सम्झौता भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रालयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनिए परिपत्र भएको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउँने जनाइएको छ । 

गृह मन्त्रालयले नाकाका विषयमा परिपत्र भए पनि एकपक्षले मात्र निर्णय गरेर नहुने चीन मालेला जानकार राख्ने तथा फक्ताङ्लुङ गाउँपालिका प्रवक्ता छेतेन लामाले बताए । सिमा तथा नाका जस्तो सम्वेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उनी बताउछन् । आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्र छोडी दिनसक्ने चीनका अधिकारीले बताएको उनले जानकारी दिए । 

नेपालको उत्पादन भएको वस्तु भने चीन निर्यात नहुने जनाइएको छ ।  नेपालको सामग्री निर्यात नहुने भएपछि ओलाङ्चुङ्गोलाको गलैँचा घरमै थन्क्याएर राख्नु परेको स्थानीवासी बताउँछन् । नेपालकोतर्फबाट नाकाको खुल्ने भए पनि चीनतर्फबाट तत्काल नाका नखुलाउने सङ्केत दिएको लामाले बताए । अझ लामो समयसम्म नाका खुल्न सकेन भने ओलाङचुगोललगायत हिमाली बस्तीमा खाद्य सामग्रीको अभाव हुने स्थानियको गुनासो रहेको छ ।