मनाङ / मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरेका छन् । 

सङ्घीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नै जिल्लामा कार्यालय नहुँदा मनाङवासी कृषि र पशु सम्बन्धित सेवाका लागि लमजुङमा जानुपर्ने बाध्यता रहेको थियो ।

OM Sai Pathibhara Hospital

सम्बन्धित जिल्लाका कृषकलाई जिल्लाभित्रै सेवा दिने र एक जिल्लाभन्दा बाहिर अर्को जिल्लामा जानु नपर्ने गरी कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्ने कार्यक्रम प्रदेश सरकारले चालू आर्थिक वर्षको कार्यक्रम राखेको कृषिमन्त्री थापामगरले बताए ।

उनका अनुसार विगतमा गण्डकीका सात जिल्लामा भेटेरीनरी अस्पताल र छ जिल्लामा कृषि ज्ञान केन्द्रको कार्यालय रहेकामा यस वर्ष ११ वटै जिल्लामा दुवै कार्यालय स्थापना गरिसकिएको छ । 

कार्यक्रममा कृषिमन्त्री थापामगरले नयाँ खोलिएका कार्यालयमा न्यूनतमा तीनदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरिएको बताउँदै अभाव पूर्तिका लागि करारमा भर्नाको प्रक्रिया चलिरहेकाले चैत मसान्तभित्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने बताएका छन् । 

जनताले सङ्घीयताको महशुस गर्नका लागिसमेत विगतमा रहेका जिल्लास्थित सबै कार्यालय पुनःस्थापना गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको बताउँदै उहाँले मनाङमा स्थापना भएका कार्यालयबाट जिल्लाका चारवटै स्थानीय तहका जनताले सहज सेवा प्राप्त गर्ने र समन्वयका लागि सहज हुने विश्वास व्यक्त गरे । 

मन्त्री थापाले भने, “सङ्घीय शासन प्रणालीमा जनताले विगतमा पाउँदै आएको सुविधा पनि खोसिएको गुनासा आएका थिए । प्रदेश सरकारले त्यसलाई गम्भीररुपमा लिएर कृषि, भौतिक पूर्वाधार, खानेपानीलगायतका अत्यावश्यक कार्यालय सबै जिल्लामा स्थापना गर्न शुरु गरेको छ, सरकारी कार्यालयले नजिकबाट जनताको आवश्यकता बुझेर सेवा प्रवाह गर्नु आवश्यक छ ।”

जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कृषि तथा पशुपक्षी विकासका कार्यक्रममा सबै जनताको पहुँच र सहभागिता आवश्यक गर्ने व्यवस्था गर्न माग गर्नुभयो । अनुदान, उन्नत बीउ तथा बेर्ना वितरणलगायतका कार्यक्रममा पहुँचवाला र टाठाबाठाको मात्र पहुँच हुने प्रवृत्ति अझै अन्त्य नभएको उनले गुनासो गरे । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, शारदा चालिसे, चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, कृषि ज्ञान केन्द्रका प्रमुख बालकृष्ण अधिकारी, भेटेरीनरी अस्पताल प्रमुख नारायण कुसुमलगायतले जिल्लामा स्थापना भएका कार्यालयबाट कृषि विकासका कार्यक्रम सञ्चालनसहित स्थानीय तहसँग समन्वयमा कार्यक्रम अघि बढाउन सहज हुने विश्वास व्यक्त गरेका थिए ।