बिर्तामोड / ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको जनाउँदै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट रु १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनःगठन गर्नुपर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताएका छन्। बाकाचोल वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेको यो तेस्रोपटक हो ।

OM Sai Pathibhara Hospital

वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ जेठ २८ गते र २०७६ पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । आफ्ना माग सम्बोधन नभए वडा कार्यालयको ताला नखोल्ने सम्पूर्ण बाकाचोलवासीको नाममा जारी प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ । वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले ४०५ जनाको हस्ताक्षरसहितको विरोधपत्र ऐँसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्खाम खोलाको पानी ऐँसेलुखर्कबजारलगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयवासीको असन्तुष्टि देखिएको हो ।

बिस्खाम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिई माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीयवासीले बताएका छन् । वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्षले आफूखुशी गरेको जनाउँदै चार वडा सदस्य एवं स्थानीयवासीले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

वडाध्यक्ष तामाङले भने हालसम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमति नदिइएको बताएका छन् । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयवासीलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको जानकारी दिए ।