बिर्तामोड / उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । 

शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताएका छन् । “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।

OM Sai Pathibhara Hospital

सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो । अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कानूनविपरीत कालोबजारी गर्ने निकायलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

पत्रकार सागर पण्डितले चाडबाडका बेलामात्र बजार अनुगमन गर्ने प्रवृत्ति अन्य गर्नुपर्नेमा जोड दिँदै दशैँतिहारमा मात्र प्रशस्त अनुगमन हुने तर अरु बेला किन नहुने भनी प्रश्न उठाएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता ऐन, २०७५ ले उपभोक्ता अधिकारकर्मीलाई नचिनेको गुनासो गरे । “उपभोक्ता ऐनले वाणिज्य विभागलाई मात्र चिन्छ । बजार अनुगमन र कारवाहीको जिम्मेवारी विभागका निरीक्षण अधिकारीलाई दिएको छ । सुशासनको प्रत्याभूति दिने प्रमुख जिल्ला अधिकारीले अधिकार प्रयोग गर्न पाएका छैनन्”, उनले भने ।