बिर्तामोड/ विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।
उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिए ।
गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास गरे । बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव भन्छन् – वडा नं. ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।
गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको १० लाख रुपैयाँ ऋणको कागजात प्रदान गरेका छन् । गभर्नर अधिकारीले एवि टेडर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड पनि हस्तान्तरण गरे । नयाँ गुद्री बजारमा ४ सय व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ ।