पोखरा/  “हामी र हाम्रो शान, वेगनास ताल हाम्रो आँगन” भन्ने नाराका साथ हाम्रो वेगनास ताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन भएको छ । 

तालैतालको शहर पोखराको लेखनाथमा रहेको वेगनासको सौन्दर्यमा थप निखार ल्याएर प्रवद्र्धन गर्ने उद्देश्यसहित अभियान समूह गठन भएको हो । तालको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि विभिन्न उमेर समूहका क्रियाशील व्यक्तिको भेलाले नवराज ओझाका संयोजकत्वमा प्रवद्र्धन तदर्थ समिति गठन गरेको हो । 

OM Sai Pathibhara Hospital

अभियानको तदर्थ समितिका सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जारा, केशव आचार्य, विनोद थापा, गोविन्द जलहारी, हरिबहादुर थापा, सुरेन्द्रबाबु तिवारी, रामबहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा तथा सल्लाहकारमा डा इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुङ्गाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेको सदस्य सापकोटाले जानकारी दिए । “पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरै मात्र वेगनास ताल घुम्न आउने गरेका छन् । कतिलाइ त यो सुन्दर तालका बारे थाहा नै छैन । तसर्थ यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि अभियान समूह गठन गरिएको हो”, संयोजक ओझाले भने । 

समूहले वेगनासमा पर्यटक भित्र्याउन र बसाइ लम्ब्याउन विभिन्न निकायसँग छलफल र अन्तरक्रिया तथा बृहत्तर वेगनासको विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिने उनले जानकारी दिए । भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरिपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका विषयमा योजना बनाउन स्वीकृति दिएको छ । 

पोखराको लेखनाथमा अवस्थित सो ताल ३.७३ वर्ग किलोमिटर (३७३ हेक्टर) छ । साढे सातदेखि १०.६ मिटर गहिराइ भएको तालमा २०४४ सालमा बाँध बाँधिएपछि क्षेत्रफल २२० हेक्टरबाट बढेर ३७३ भएको सदस्य सापकोटाले जानकारी दिए । त्यसैगरी वेगनासताल युवा क्लबले शुरु गरेको बृहत् वेगनास ताल सफाइ अभियानको ९२ औंँ शृङ्खला पुगेको छ । क्लबले हरेक हप्ता सदस्य र विभिन्न सङ्घसंस्था सफाइ अभियानकर्मीका साथमा तालका वरपर सरसफाइ गर्दै आएको छ ।