बिर्तामोड ( राजधानी दैनिकबाट) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।

बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घट्नाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता आंैल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ ।

OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताउनुअघिसम्म नेपाल समूहले पार्टीभित्र ओलीको नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको थियो । तर, सर्वोच्चले एमाले ब्युँताएपछि भने सो समूह ओलीप्रति केही लचक बन्दै पार्टी एकताको मुख्य अभिभारा ओलीकै काँधमा आइपरेहको निष्कर्षमा पुगेको हो । साथै उसले आगामी दिनमा ओलीको नेतृत्व सहर्ष स्वीकार्ने संकेत पनि गरेको छ । तर, नेपाल समूहमा नेकपामा रहँदा लागेको गुटगत भेला गर्ने बानी र संस्कारमा भने कुनै परिवर्तन नआएको भन्दै ओली समूह अझै संशकित छ । तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टिएर एमालेमा आउने क्षणमा वरिष्ठ नेता नेपालले एमालेमा गएर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने बताएका थिए । प्रचण्डसँग नेपालले गरेको त्यस्तो टिप्पणीलाई आमएमाले नेता र कार्यकर्ताले भने रुचाएका थिएनन् । ‘एमालेमा आएर संघर्ष गर्ने विषय अरूलाई भन्दै हिँड्ने होइन, पार्टीमा नै आएपछि संघर्षका विषय उठाउनुपर्छ ।’ त्यतिबेला नै एमालेका कार्यकर्ताले नेपालप्रति असन्तुष्टिसहितको टिप्पणी गर्दै भनेका थिए ।

भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एकथोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।

नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ । यसका लागि अध्यक्ष ओलीले नै आवश्यक भूमिका खेल्नुपर्ने निष्कर्षसमेत सो समूहले निकालेको छ । स्रोतका अनुसार भेलामा वरिष्ठ नेता नेपालले अब सबैले विगतमा गरेका कमीकमजोरी सच्याएर एकजुट भएर अघि बढ्न सबै पक्ष तयार हुनुपर्ने बताएका थिए । दुवै पक्षमा रहेको शंका उपशंका हटाउन पनि बैठक अनिवार्य रहेको बताइएको छ ।

भेलामा सबै सदस्यले एमालेलाई शक्तिशाली बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि एकताबद्ध पार्टी निर्माणको पहल अध्यक्षबाटै गरिनुपर्नेमा जोड दिइएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । ‘अदालतले पुनस्र्थापना गरेपछि मुख्य रूपमा अध्यक्ष केपी ओली नै हुनुभयो त्यसैले उहाँले नै पार्टीलाई एक बनाउन आवश्यक भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुग्यांै ।’ भेलाबारे जानकारी दिँदै पन्तले भने । यसका लागि केन्द्रीय, स्थायी र सचिवालयको बैठक बोलाउनुपर्ने आवश्यकता महसुस गरिएको पन्तले जानकारी दिए । ‘सबै बैठक बोलाउनुपर्छ र यसका लागि अध्यक्षले नै आवश्यक पहल गर्नुपर्छ,’ पन्तले भने ।

भेलामा अधिकांशले वामपन्थीबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए । ‘तत्काल पार्टी एकता होला–नहोला तर नेपालभरिका वामपन्थीबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्छ भन्ने सुझाव पनि प्राप्त भयो,’ पन्तले भने ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको योजनाअनुसार नेपाल समूह अझै पनि एमालेलाई फुटाउने षड्यन्त्रमा लागिरहेकाले उनीहरूलाई पूर्णरूपमा विश्वास गर्न नसक्ने अवस्था रहेको बताए । ‘एमालेमा आएपछि उहाँहरूले गुटगत भेला गर्ने र धामी नाच नाचेर पार्टीलाई कमजोर बनाउने खेल पूर्णरूपमा बन्द गर्नुपर्छ,’ थापाले राजधानीसँग भने । पार्टी अध्यक्षले अब छिट्टै बैठक बसालेर पार्टीलाई अनुशासित तवरले विधि र पद्धतिअनुसार चलाउनुहुने र अनुशासनमा नबस्नेहरू कारबाहीमा पर्ने थापाले बताए ।

नेपाल समूहको भेलामा संस्थापन पक्षले पार्टी कार्यालय कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीका नेमप्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्नेजस्ता काम गरेको भन्दै आपत्ति जनाइएको छ । बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताहरूले भावी रणनीतिबारे धारणा राखेका थिए ।