बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) राष्ट्र बैंकले ६५ वर्षे इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा। नीलम तिम्सिना ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । 

डा. तिम्सिना राष्ट्र बैंककी तेस्रो वरीयता र मिश्र १३औँ वरीयतामा थिए । गभर्नर महाप्रसाद अधिकारीले उनीहरूका अतिरिक्त चौथो वरीयताका कार्यकारी निर्देशक देवकुमार ढकाल र १२औँ वरीयताका देवकुमार ढकाललाई डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले यो सिफारिसलाई मन्त्रिपरिषद्मा पेस गरेका थिए । डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ ।

OM Sai Pathibhara Hospital

२२ मंसिर ०५४ बाट राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा प्रवेश गरेकी तिम्सिना फागुन ०७४ मा कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन् । ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा रहेकी उनी एक मात्र महिला कार्यकारी निर्देशक थिइन् । भारतको मेवाड विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी तिम्सिनाले अस्टे«लियाको युनिभर्सिटी अफ ओलनगोङबाट अर्थशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । उनले यसअघि राष्ट्र बैंकमा अनुसन्धान विभाग, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभागलगायतमा रहेर काम गरेकी छिन् । 

त्यस्तै, हाल वैदेशिक विनिमय विभागमा रहेका मिश्र ०५९ मा राष्ट्र बैंकमा प्रवेश गरेका थिए । साउन ०७६ मा कार्यकारी निर्देशकमा बढुवा भएका उनले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसअघि उनले भुक्तानी प्रणाली विभागलगायतमा रहेर काम गरिसकेका छन् । 

राष्ट्र बैंकमा ०२७ बाट दुईजना डेपुटी गभर्नर राख्ने व्यवस्था सुरु भएको हो । त्यसअघिसम्म प्रमुख लेखा अधिकृतले डेपुटी गभर्नरसरह काम गर्ने गर्थे । पहिलोपटक धीरविक्रम शाह र कुमारदास श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका थिए । 

डेपुटी गभर्नरबाट गत मंगलबारबाट चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठले अवकाश पाएका थिए । राष्ट्र बैंक ऐनमा गभर्नरले डेपुटी गभर्नरको रिक्त पदका लागि विशिष्ट श्रेणीका अधिकृत ९कार्यकारी निर्देशक०हरूमध्येबाट कार्यक्षमताका आधारमा दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तीमध्ये दुईजनालाई मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्छ । गभर्नर र डेपुटी गभर्नरहरूले राष्ट्र बैंक सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्छन् ।