कञ्चनपुर/  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा चितुवाले  गोठबाटै घरपालुवा जनावर  खान थालेपछि स्थानिय बासिन्दा निकै चिन्तित भएका छन् ।

लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट गाउँ पसि गोठमा बाँधेका बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको छ । स्थानीयबासी परदेशी चौधरीका अनुसार दुई साताको अवधिमै चितुवाले  एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार गाउँमा पालेका कुकुरसमेत चितुवाले बाँकी राखेको छैन, राति कुन बेला आउँछ गाउँलेलाई पत्तो हुँदैन, सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पर्छ ।

गए राति मात्रै ३५ हजार रुपैयाँ हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए । चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ भन्दै दुःखेसो गर्छन् उनी ।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको भने स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका र गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आएको स्थानीयको भनाइ छ ।

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।