काठमाडौँ/ हिंसामा परी अफगानिस्तानमा  २४ घण्टायता  ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई भने निरन्तरता दिइरहेका छन् ।

२४ घण्टा यता भएका हिंसामा परी ९० भन्दा बढी व्यक्तिको निधन भएको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

रिभले भनेको छ, ‘गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।’ साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएका पनि बताइएको छ । 

सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबान मारिएका हुन् ।

अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् ।

गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँका पाँच प्रान्तमा गएको २४ घन्टामात्र यता हिंसात्मक हमलाहरु भएका थिए ।