मोरङ / पूर्वका प्रतिष्ठित उद्योगी अविनाश बोहोराको गोदाममा सरकारी निकायले अनुगमनका क्रममा फेला परेका पाँचवर्ष पुरानो म्याद सकिएको बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको एक साता भइसकेपनि सरकारी निकायले दवावका कारण अझै सम्म पनि नष्ट गर्न सकेका छैनन् । 

उद्योगी बोहोराले दाल जोगाउन पहल गरेपनि शिलबन्दीमा संलग्न सरकारी निकायले म्याद सकिएको दाल नष्ट गर्न आनाकानी गरेका हुन् । बोहोराको गोदाममा म्याद सकिएको ५ वर्ष पुरानो दल भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको थियो । विभागले अनुगमनका क्रममा म्याद सकिएका खाद्यान्न र उपभोग्य भेटिए तत्कालै नष्ट गर्ने प्रचलन रहेको छ ।  

तर, उद्योगि बोहोराको गोदाममा ठुलो परिमाणमा भेटिएको म्याद सकिएको रहरको दाल भेटिएको एक साता भईसकेको छ तर पनि उनको गोदाममा भेटिएको दाल नष्ट गर्न सरोकारवाला निकायले चासो देखाएका छैनन् । गत फागुन १२ गते विभागले गरेको अनुगमनको क्रममा विराटनगर– ७ जैसानी ट्रेड कन्र्सनले ५ वर्ष अगाडी म्याद सकिएको रहरको दाल विक्री गर्ने गरेको भेटिएको थियो ।

आफ्नो गोदाममा लाखौं मुल्य बराबरको म्याद सकिएको दाल विभागले फेला परेपछि सो दाल जोगाउन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका अभिनास बोहोराले सरकारी उच्च तहबाट दवाव दिएका कारण नष्ट हुन नसकेको बताईएको छ । म्याद गुज्रिएको दाल नष्ट हुँदा आफ्नौ लाखौं रुपैंया डुब्ने भएपछि उनले सरकारी निकायलाई मिलाएर भारत नै पठाउने तयारी गरीएको उनी निकटका एक व्यक्तिले जानकारी गराएका छन् । 

उद्योगी बोहोराले विराटनगरमा नै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट समेत परिक्षण गराएर दाल जोगाउने खेलमा लागेको समेत ति व्यक्तिले बताएका छन्। उनले भने – उद्योगि बोहोराले विराटनगरमा रहेको सरकारी प्रयोगशालामा परिक्षण गरेर गुणस्तरीय देखाउन सक्छन् , त्यस्तो भयो भने आपत्ति नमान्दा हुन्छ । 

उद्योगी बोहोराको गोदाममा भेटिएको दाल र स्रोतहरुले दिएको सूचनाका विषयमा जिज्ञासा राख्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको लेबल भेटिएकाले सो दालको पुन परीक्षण हुन नसक्ने बताएका छन् । 

दाल भएको बोहोराको गोदाम शिलबन्दीमा संलग्न सरकारी निकाय वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले दाल आयत गर्ने फर्मले प्रमाण पेश गर्ने भएकोले केही दिन समय दिईएको बताएका छन् । उनले बरामद भएको दाल कसरी नष्ट गर्ने भनेर छलफल भईरहेको पनि जानकारी गराएका छन् । 
उद्योगी बोहोराको निजी निवास रहेको क्षेत्रमा नै रहेको गोदामबाट म्याद सकिएको ४० मेट्रिक टन रहरको दाल बरामद गरेको थियो । बरामद दालमा सन् २०१३ उत्पादन मिति  र म्याद सकिने मिति २०१५ रहेको उल्लेख छ । म्याद सकिएको सो दालमा अर्को लेबल टाँसी सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुल्लेआम बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला परेको थियो ।