बिर्तामोड । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि शनिबारबाट अनलाइनमार्फत् दान संकलन सुरु भएको छ ।
यसअघि उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको सार्कका महासचिव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गरेका थिए ।
विश्वभरका आमसमुदायको सहभागिता रहने गरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गर्न सहज होस् भनेर अनलाइन सेवा सुरु गरिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पुचेले बताए ।
उनले भने, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत् दान गर्न सकिने गरी व्यवस्था मिलाएका छौं । मुठ्ठीदानबाट निर्माण हुने अन्तर्राष्ट्रिय महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस सेन्टर विश्व द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण केन्द्र बन्नेछ । विश्वका हरेक द्वन्द्वरत पक्षको छलफल गर्ने केन्द्र बनाउनेछौँ ।’
डब्लुडब्लुडब्लु डट पिसस्यान्चुरी डट ओआरजीमार्फत मुठ्ठिीदान गर्ने गरी व्यवस्था गरिएको हो ।
अभियानअन्तर्गत नेपालबाट सुरु मुठ्ठीदान कार्यक्रम विश्वभर रहेका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका सदस्यबाट एक रुपैयाँ दान लिइनेछ । केन्द्रभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकको संग्रह गरी पुस्तकालय बनाइने छ । यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्षलगायत निर्माण गरिने छ ।
केन्द्र अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन् । बाटिकाको डिजाइन जर्मनमा गरिएको थियो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्ने स्थलका रूपमा २ वर्ष अघिदेखि लुम्बिनीमा बाटिका निर्माण भइरहेको हो ।
शनिबार लुम्विनीमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी सांग्रीला होटलका अध्यक्ष प्रसिद्ध बहादुर पान्डेले अनलाइन एक रुपैयाँ डोनेशन कार्यक्रमको समुद्घाटन गर्दै सबै उद्योगी व्यवसायीले सहयोग गर्ने बताए । उक्त कार्यक्रममा उपस्थित उद्योगि व्यवसायी, पत्रकारहरुले एक रुपैयाँ दान समेत गरेका थिए ।