बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट )  आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।

आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने रु आफन्त को छन्, कहाँ छन् रु पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

OM Sai Pathibhara Hospital

बालिकामाथि बलात्कार हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ। पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ।

पीडामाथि पीडा

मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्। आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो। उनी माघमा काम खोज्दै सुनसरीको इटहरी आउँदा ४९ वर्षीय रोहित कार्कीसँग भेट भयो। कार्की इटहरीमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने, त्यसबापत कमिसन लिने काम गर्थे।

ती बालिकाले आफ्नो समस्या कार्कीलाई सुनाइन्। कार्कीले काम खोजिदिने आश्वासन दिएपछि उनी आफ्नो सम्पर्क नम्बर दिई उर्लाबारीतिरै फर्किन्। कार्कीले काम पाइएको भन्दै एक साताअघि बोलाएर इटहरी उपमहानगरपालिका–५ स्थित एउटा घरमा पुर्‍याए। तर, त्यहाँ राखेर कार्कीले बालिकालाई मानसिक तथा शारीरिक यातना दिँदै बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले आरोपित कार्कीलाई मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराट चोकबाट पक्राउ गरेको छ।

प्रहरी निरीक्षक ऋषिराज ढकालले पीडितलाई मानसिक रूपमा विक्षिप्त अवस्थामा उद्धार गरिएको बताए। बेलबारीमा कार्यरत महिला प्रहरीले ‘काउन्सिलिङ’ गर्दै अवस्थालाई सामान्य बनाएपछि पीडितले केही सहज महसुस गरेको जनाइएको छ। त्यसपछि बलात्कार घटनाबारे बताएकी थिइन्। ढकालका अनुसार राम्रो कमाइ हुने काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले एक सातासम्म बलात्कार गरेको खुलेको छ।

घटना इटहरीमा भएकाले आरोपितलाई बेलबारी प्रहरीले शुक्रबार साँझ इलाका प्रहरी इटहरीको जिम्मा लगाएको छ। बलात्कार गर्न खोज्दा असहमति जनाए मानसिक तथा शारीरिक यातना दिएको खुलेको इटहरीका डीएसपी अर्जुन केसीले बताए। पीडितलाई संरक्षण र आवश्यक ‘काउन्सिलिङ’का लागि ‘माया घर’को जिम्मा लगाइएको डीएसपी केसीको भनाइ छ।

प्रहरीका अनुसार पीडितको शरीरभरि निलडाम र चोट छ। कुटाइका कारण दुवै हात राम्ररी चल्दैनन्। राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको जनाइएको छ। आरोपितले कुटपिट गरी बाहिर निस्कन नसक्ने बनाएकाले पीडितको उपचार थालिएको प्रहरीले जनाएको छ।

‘बालिकाले सानैदेखि पारिवारिक र अभिभावकीय वातावरण नपाएको देखिन्छ। अभिभावकको संरक्षण र आवश्यक मायाममताविहीन हुँदा बेवारिसेजस्तै बनिन्’, एक प्रहरीले भने, ‘केही समय आफन्तकहाँ बसे पनि राम्रो व्यवहार र साथ नपाउँदा उनी भौतारिन थालिन्। इटहरी आइपुगेकी बालिका अन्ततः काममा लगाइदिने आश्वासन दिएका पुरुषबाटै बलात्कारको सिकार बन्न पुगिन्।’

आफूलाई लठ्याउने पदार्थ खुवाउँदै बलात्कार गरेको पीडितले बताएको प्रहरीले जनाएको छ। ‘यो खायो भने शरीरलाई राम्रो गर्छ भन्दै औषधिजस्ता खानेकुरा दिन्थे। खाएपछि मलाई केही थाहा हुँदैनथ्यो’, पीडितलाई उद्धृत गर्दै प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि ममाथि के गरिन्थ्यो भन्ने चाल पाउँदिनथें। ब्यँुझिँदा र थाहा पाउँदा शरीर धेरै दुखेर केही गर्न तथा उठ्न पनि सक्ने अवस्था हुँदैनथ्यो।’

प्रहरीका अनुसार आरोपित कार्कीले घटनामा आफ्नो संलग्नता स्विकारेका छन्। लागुऔषध भने सेवन नगराएको आरोपितको दाबी छ। कार्कीले भाडामा लिएको कोठामा छापा हान्ने र खानतलासी गर्ने तयारी गरेको छ।

पीडित बालिका कार्की बाहिर निस्किएको मौकामा भागेकी थिइन्। बाहिरबाट चुकुल लगाउन बिर्सिएपछि पीडितले फुत्किने मौका पाएकी हुन्। उनले चिनजानका व्यक्तिसँग सहयोग मागेकी थिइन्। ती व्यक्तिकै सल्लाहमा उनले कार्कीलाई विराट चोकमा लिन आउन भनेकी थिइन्। त्यहीँ जाँदा उनी नियन्त्रणमा परेका थिए।

प्रहरीले कार्कीविरुद्ध अपहरण र शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाउन सकिने जनाएको छ। तर, पीडितका आफन्त सम्पर्कमा नआएकाले समस्या देखिएको छ। ‘पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी दिन आफन्तको खोजी भइरहेको छ’, डीएसपी केसीले भने, ‘तर कोही पनि सम्पर्कमा आइसकेका छैनन्।’

उनले बालिका पीडित भएका कारण अभिभावक वा कोही आफन्तले जाहेरी नदिए बलात्कारमा संलग्नविरुद्ध कारबाही अघि बढाउन कानुनी जटिलता रहने बताए। ‘पीडित बालिका भएकाले पीडकविरुद्ध उनले जाहेरी दिन मिल्दैन’, केसीले भने, ‘फेला पर्नासाथ बोलाएर आफन्तलाई ल्याइनेछ। सहयोग गर्न तयार नदेखिए उनीहरूमाथि नै कारबाही हुन्छ।’