बिर्तामोड (नागरिक दैनिकबाट) बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।  

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।  

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो। अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए।  

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो। ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो। अनि जागिर छाडेर विदेश जाने निर्णय गरें।’  

उक्त म्यानपावरले ठकुरीसँग सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि थप दुई लाख रूपैयाँ बुझाउने सर्त राखेको थियो। ‘तीन लाख रूपैयाँ लिएपछि म्यानपावरले अफगानिस्तान जान भन्दै भारतको दिल्ली पुर्‍यायो,’ उनले भने, ‘एक सातासम्म दिल्लीमा राखेर फर्र्काएपछि बल्ल बदमासी गर्दैछ भन्ने आशंका लाग्यो।’ युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूलो रकम असुल गरिरहेकै बेला म्यानपावर सञ्चालक रामेश्वर सिंह वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे।

उनी सोही ठगीसँग नभई वैदेशिक रोजगारीकै अन्य कसूरमा पक्राउ परेको विभागले जनाएको छ। सिंह पक्राउ परेपछि उक्त म्यानपावर नवीकरण नभएको विभागले जनाएको छ। ‘म्यानपावर नवीकरण नभएका कारण यतिखेर पीडितको रकम कसरी फिर्ता गराउने भन्ने समस्या देखिएको छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘उक्त म्यानपावरको नाममा रकम असुल गरिए पनि लिने व्यक्तिहरू अरू नै रहेछन्।’  

पीडितहरूका अनुसार उक्त म्यानपावरले २०७४ सालदेखि नै युवालाई ठगी गर्न थालेको थियो। सञ्चालक पक्राउ परेपछि २०७६ पछि म्यानपावर नवीकरण गरिएको छैन। दाहालले म्यानपावरको ३० लाख धरौटी भने रहेको बताए। ‘तीन करोड रूपैयाँ ठगीमा ३० लाख धरौटीले पुग्ने देखिँदैन,’ उनले भने।  

विभागका अधिकारीहरू उक्त म्यानपावरले गलत मनसाय राखी योजनाबद्ध तरिकाले युवालाई ठगेको बताउँछन्। ‘तीन करोड रूपैयाँ ठगी गरेपछि सञ्चालक जेलमा जानु र अर्कोतर्फ म्यानपावर नवीकरण नहुनुले सुरुदेखि नै ठगी गर्ने मनसाय राखेको देखिन्छ,’ विभागका एक अधिकृतले भने, ‘नियत नै खराब भएपछि सर्वसाधारणले दुःख पाउँछन् भन्ने पुष्टि यो घटनाबाट हुन्छ।’ ती अधिकारी म्यानपावर व्यवसायीले पेसा र व्यावसायिक आचारसंहिता पालना नगरेसम्म वैदेशिक रोजगारीका नाममा हुने ठगी कम नहुने बताउँछन्।  

वैदेशिक रोजगार ऐनले म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको प्रमाणित भए बिगोको डेढ गुणासम्म जरिवाना र कैद सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ। जरिवाना तिराउने रकम म्यानपावरले राखेको धरौटीबाट विभागले कटौती गर्नसक्छ।  

तर यतिखेर तीन करोड रूपैयाँ ठगेको भेरी ओभरसिज म्यानपावरको विभागमा ३० लाख रूपैयाँ मात्र धरौटी छ। २०७६ पछि भने म्यानपावरको धरौटी साढे एक करोड रूपैयाँदेखि ६ करोड रूपैयाँसम्म बनाइएको छ।  

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले एउटै म्यानपावरले तीन करोड रूपैयाँ ठगी गर्दासम्म विभागले थाहा नपाउनु लाजमर्दो भएको बताए। ‘म्यानपावरले तीन करोड रूपैयाँ ठगी गर्दा कार्यालयमा ठूलै जमघट भए होला,’ उनले भने, ‘राम्रो काम गर्ने म्यानपावरलाई छापा मारेर हैरानी पार्ने विभाग त्यति ठूलो ठगी हुँदा कहाँ थियो रु’

पीडितले चाँडोभन्दा चाँडो डुबेको रकम पाउनुपर्ने व्यवस्था मिलाइदिन विभागसँग आग्रह गरेका छन्। विभागका महानिर्देशक दाहालले म्यानपावर सञ्चालक जेल परेपछि अन्य आरोपीसँग बयान गराउन नसकिएको बताए। ‘अब चाँडै रकम असुल गर्नेसँग पनि बयान गराउँदैछौं,’ दाहालले भने, ‘बयान गराएपछि मात्र पीडितले डुबेको रकम फिर्ता पाउने वा नपाउने भन्नेबारे यकिन हुन्छ।’ ठगी गर्नेको नाममा सम्पत्ति देखिएपछि असुलउपर गर्न सकिने उनको भनाइ छ।  

पीडितहरूले विभिन्न स्रोतबाट बुझ्दा म्यानपावर सञ्चालक र रकम असुल गर्ने कर्मचारीका नाममा निजी सम्पत्ति नदेखिएको बताएका छन्। युवासँग रकम असुल गर्ने काठमाडौं, काँडाघारीका एक व्यक्तिले सम्बन्ध बिच्छेद गरेर सम्पत्तिविहीन भएको पाइएको छ। ‘म्यानपावरले विभागमा धरौटीबापत राखेको रकम सबै पीडितलाई दिन पुग्दैन,’ पीडित ठकुरीले भने, ‘ठग्नेमध्ये केहीले ठगीको रकम पत्नीलाई दिएर सम्बन्ध बिच्छेदको नाटक गरेका छन्। केहीसँग सम्पत्ति नै देखिँदैन।’