बिर्तामोड । मोरङको उर्लाबारीमा प्रविण बास्तोलाको हत्य प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै आफन्त र स्थानीयबासीले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका छन् ।

प्रविण बास्तोलाको हत्य प्रकरणको छानबिन राम्रो नभएको भन्दै आफन्त र स्थानियले सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यलयलाई घेराउ गरेका हुन् । आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीयले  मंगलबार विराटनगर आएर जिल्ला सरकारी वकिलको कार्यालयमा दबाब दिएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रहरीले हत्यामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरुको आरोप छ । गत पुस ५ गते मृत फेला परेका उर्लाबारी–५ का ३१ वर्षीय बाँस्तोलाको हत्या गरिएको आफन्तको दावी छ ।

गत पुस ५ गते राति साथीसँग खाना खाएर रमेश गिरीको घरमा बसेका बाँस्तोला भोलिपल्ट बिहान मृत शव भेटिएको थियो । 

घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो अरु नै व्यक्तिको रहेको खुलेको छ ।

 घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककै साथी उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीमाथि अनुसन्धान गरेको थियो ।

माघ २ गते मुद्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए । मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा छन् ।

आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा प्रहरीले अनुसन्धानबारे छानविन गर्न समिति गठन गरेको हो। छानविन समितिलाई ७ दिनको समय दिइएको छ ।