जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै शनिबार सकुशल उद्धार गरिएको छ । धनुषको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।

प्रहरीका अनुसार अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि रहेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।

फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आएलगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।