काठमाडौं / सिन्धुपाल्चोक जुरे पहिरो पीडित राहतको रकम माग्दै काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्। पहिरो गएको ७ बर्ष बितिसक्दा समेत दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएपछि पहिरो पीडित शनिबार माइतीघरमा धर्ना बसेका हुन्। 

सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा सरकारको विरोधमा धर्ना बसेको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए। 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री, उपप्रधान, गृहमन्त्रीलगायत संघीय जनप्रतिनिधिहरूसँग पीडितहरूको नाममा संकलन भएको रकम वितरणको व्यवस्थाका लागि धेरै पटक आग्रह गर्दा समेत वेवास्ता भएको गुनासो उनले गरे। 

साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राति इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए।  

पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए। २ करोड २४ लाख रुपैयाँ जुरे पहिरो पीडितहरूको लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पीडितहरुले पाउन सकेका छैनन्।