बिर्तामोड ( राजधानी दैनिकबाट )  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ ।

प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन् ।

OM Sai Pathibhara Hospital

यसैबीच भागरथीको हत्या गरेको आरोपमा पक्राउ परेका दिनेशले परिवारका सदस्य र आफ्नै बुबासँग समेत आफूले नै हत्या गरेको बताएका छन् ।

१८ वर्षीय दिनेशले परिवारका सदस्यसँग भागरथीको हत्या आफूले नै गरेको कुरा साँचो भएको बताएका हुन् । दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्ला एक्लै भेटाएर कुराकानी गर्न लगाएको थियो ।

सोही क्रममा उनले भागरथीको हत्या गरेको बताएको अभियुक्त र मृतकका काकासमेत रहेका शिवराज भट्टले बताए । अभियुक्तले प्रहरीलाई दिएकै साबिती बयानसँग मिल्ने कुरा परिवारका सदस्यसँग भने पनि अब त्यसलाई पुष्टि गर्ने सबुत प्रमाणसमेत प्रहरीले आफूलाई देखाउनुपर्ने पीडित पक्षको माग रहेको छ ।

दिनेशले देखाएकै ठाउँमा भेटियो भागरथीको घडी

भागरथी बलात्कार–हत्यामा पक्राउ परेका दिनेशसँग सबै प्रमाण मिल्दै गएको कुरा बाहिर आइरहेका बेला उनले नै भनेको ठाउँमा भागरथीको घडी भेटिएको प्रहरीले जनाएको छ ।

दिनेशले प्रहरीलाई घटनास्थलमा खसेको घडी देखाएका छन् । मंगलबार पक्राउ परेका भट्टले भागरथीको घडी घटनास्थल आसपासमै रहेको बताएपछि प्रहरीले खोजी गरेको थियो ।

उनले भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फालेको बताएपछि त्यहाँ पुगेको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

गत २१ माघमा विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी भोलिपल्ट २२ माघमा बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।

बयानका क्रममा अभियुक्तले भागरथीको हत्या गरेको स्वीकार गरे पनि बलात्कारको आरोप भने अस्वीकार गरेको प्रहरीले जनाएको छ । उनले भागरथीको परिवारसँगको पूर्वरिसइवीका कारण आफूले हत्या गरेको समेत बताएका छन् ।