बिर्तामोड । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । 

मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक एक अर्ब सात करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ स१४ रुपैयाँ, डिजेल तथा मट्टितेलको  ९७ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  ६७ रुपैयाँ प्रतिलिटर तोकेको छ ।

बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ६८ रुपैयाँ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर  एक हजार ४ सय तोकिएको छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा नोक्सान छ ।

मट्टितेलको नाफा घटेर प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।