काठमाण्डौ । सेयर बजारमा अहिले निकै चौतर्फी चासो बढेको छ। चाहे प्राथमिक बजार होस् वा दोस्रो बजार लगानीकर्ताहरु झुम्मिएका छन्। कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी जोखिम हुने देखिए पनि सामान्यदेखि ठूला व्यापारीहरुसमेत अहिले सेयर बजारमा लगानी खन्याइरहेका छन्। 


OM Sai Pathibhara Hospital

जानकारहरुले अहिले बजार बुलिस ट्रेन्डमा रहेको बताएका छन्। उनीहरुको मतअनुसार अहिले बुलिस ट्रेन्डमा सेक्टरवाइज बढोत्तरी हुँदै जान्छ। 


बीमा, जलविद्युत्, लघुवित्तहरुमा चमक आइरहेकै बेला बैंकिङ सेक्टर केही सुस्ताएजस्तो देखिन्थ्यो। तर यो साताका पछिल्ला केही दिन भने बैंकिङ, विकास बैंक र वित्त समूहले बजारलाई सम्हाल्ने काम गरेका छन्। अब तेस्रो त्रैमासपछि बैंकिङ सेक्टरसम्म बैंकिङ सेक्टरमा उछाल आउने बजार जानकारहरु बताउँछन्। 


यो साता पछिल्ला २ दिनमा वाणिज्य बैंकहरुमा चमक देखियो। नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकहरुमध्ये १० वटामा बैंकले प्रतिसेयर २० रुपैयाँमाथि कमाएका छन् भने १० वटा बैंकको सेयरमूल्य प्रतिकित्ता १० रुपैयाँदेखि १९ रुपैयाँसम्म बढेको छ। दुईवटा बैंकको मूल्य घट्दा, दुईवटामा १ रुपैयाँमात्र बढेको छ भने दुईवटा मूल्य स्थिर रहेका छन्।


यो साता सबैभन्दा बढी नबिल बैंकको सेयरमूल्य बढेको छ। यो बैंकको प्रतिकित्ता सेयर ९७ रुपैयाँ बढेर १ हजार २१३ रुपैयाँको उचाइमा पुगेको छ। गत बिहीबार यो बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता १ हजार ११६ रुपैयाँ थियो।


त्यस्तै ग्लोबल आईएमई बैंकको सेयरमूल्य पनि प्रतिकित्ता ५२ रुपैयाँले बढेको छ। गत साता ४०० रुपैयाँ रहेको यो बैंकको प्रतिकित्ता सेयर यो साता बढेर ४५२ रुपैयाँ पुगेको छ। 


यसैगरी प्रभु बैंकको सेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ४८० रुपैयाँको उचाइमा पुगेको छ। गत साता बिहीबार यो बैंकको प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो।


यो साता सनराइज बैंकको सेयरमूल्य पनि ३७ रुपयाँले बढेको छ। गत साता २९० रुपैयाँ अन्तिम कारोबार मूल्य रहेको यो साता बिहीबार ३२७ रुपैयाँ कायम भएको छ।


यस्तै कुमारी बैंकको सेयरमूल्य पनि यो साता ३२ रुपैयाँले बढेको छ। गत साता बिहीबार २८५ रुपैयाँ कायम भएको यो बैंकको सेयर यो साता बिहीबार ३१७ रुपैयाँ कायम भएको छ।