चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख रुपैयाँ उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।


OM Sai Pathibhara Hospital

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म  ४१ करोड ८८ लाख ४ हजार ९ सय ३६ रुपैयाँ खर्च भइसकेको छ ।  सोमबारसम्म प्राप्त बिलअनुसार  ९ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उनका अनुसार माघ मसान्तसम्म  १० करोड रुपैयाँ भन्दा बढी उधारो हुनेछ ।


हालसम्म रङ्गशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार रुपैयाँ सहयोग प्राप्त भएको  छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले ८ करोड, वाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ भएकामा जम्मा र ९ करोड ११ लाख ६५ रुपैयाँ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए । महायज्ञमा  १ करोड रुपैयाँ भन्दा बढी आठवटा संस्थाले बचन दिएका थिए ।


वाग्मती प्रदेश सरकारले  ३० करोड, भरतपुर महानगरपालिकाले  १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख, वामदेव गौलीले १ करोड १२ लाख रुपैयाँ बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले १ करोड, गैँडाकोट नगरपालिकाले १ करोड रुपैयाँ बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले १ करोड र ग्लोबल आइएमई बैंकले १ करोड रुपैयाँ बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले  ३० लाख रुपैयाँ बाहेक अन्यले बचन गरेको रकम प्राप्त नगरेको तिमिल्सिनाले जानकारी दिए ।


महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिए।


वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७र७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा बचन दिएको रकम प्राप्त नभएको जानकारी दिए । जिल्लाका अन्य केही पालिकाले बचन दिएको रकम पठाएको भए पनि केहीको बाँकी भएको उनले बताएका छन्। महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।


फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताएका छन् । उनले भने, “रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।” उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनले गुनासो समेत गरेका छन् ।


निर्माण सामग्री खरिद गर्ने एउटै फर्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउँछन्।


रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको सङ्ख्या समेत घटाइएको छ । पहिले ३ सय १३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १ सय ३५ जनाले मात्रै काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।


रङ्गशाला निर्माण सम्पन्न गर्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्याराफिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला १ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 


त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रङ्गशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रङ्गशाला निर्माण थालेको हो ।