काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक संकटमा परेको बेला धार्मिक पथमा लागेका छन् । केही दिन अगाडी प्रधानमन्त्रि ओली र उनकी श्रीमती राधिका शाक्य पशुपतिनाथको दर्शन गर्नका लागि गएका थिए । दर्शन गर्ने क्रममा उनले पशुपतिनाथको मन्दिरमा एक अर्व बाराबरको सुनको जलहरी लगाउने घोषणा गरे । केही समय अघि ओलीले माडी नगरपालिकामा रामको जन्म भएको भन्दै विवदास्पद कुरा गरेका थिए । भगवान श्रीरामको जन्म नेपालमा भएको भन्ने कुराले ओलीे विवादमा तानिएका थिए । 

OM Sai Pathibhara Hospital


ओलीले आफ्नो विवादास्पद भनाईलाई सत्य बनाउने कोशिस गर्दै माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि काम अघि बढाएका छन् । उनले  व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार गर्न लगाएका छन् । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि बालुवाटार पुगेका  नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको जानकारी गराए।


उनले हनुमान र लक्ष्मणको मुर्ति निर्माणको काम भईरहेको जानकारी दिए । उनले भने,  ‘प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।’ नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी गराएका छन् ।


माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँले तयार गर्न लगाएको राम र सीताको मूर्ति देखाएका थिए । प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । ‘अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुने ओली र उनि निकटस्थको भनाई छ । भेटका क्रममा ओलीले भनेका थिए, ‘हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।’ उनले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रका जनप्रतिनिधिले भने खासै चासो नदिएको बताए ।


माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी एक सय बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको र औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको बताए । ओलीले भने, ‘राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।’


नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताए । उनले भने, ‘राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्नेबारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री ओलीले माडीमा अयोध्याधाम बनाउन दृढरूपमा लागेको हामीले पाएका छौँ ।’


नेकपाको ओली समूहका नेत्री पार्वती रावलले प्रधानमन्त्रीले केही दिनभित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताईन् । ‘राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । ओली अब द्रुत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा छन्’, रावलले भने, ‘चितवनको जनसभामा घोषणा गरेअनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ ।’


रावलका अनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पारेको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहेका रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताए ।


माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको एक सय बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरङ्ग पैदा गरेको थियो । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ । 


प्रधानमन्त्री ओलीले गत साउनमा माडीका प्रतिनिधिसँगको भेटमा विसं २०७८ को रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान् श्रीरामको जन्मभूमि अयोध्याको विषयमा अनुसन्धान थाल्नुपर्ने बहस शुरु भएको थियो ।