काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा उनले भदौ १ गतेदेखि सुरु भएको हस्ताक्षर अभियानलाई स्थानीय तहसम्म विस्तार गरी एक महिनापछि सरकारलाई बुझाउने बताए ।

घिसिङले विद्युत्, राइड सेयरिङ, खानेपानी र सिँचाइजस्ता नागरिकका आधारभूत सेवामा कर लगाउने सरकारको नीति जनविरोधी भएको आरोप लगाए । विद्युत् खपत बढाएर ग्यास र तेल विस्थापन गर्नुपर्ने बेला उल्टै कर लगाएर उपभोक्तालाई निरुत्साहित गरिएको उनको भनाइ छ ।

उनले विद्युत् प्राधिकरणको बक्यौता उठाउन नसक्ने तर त्यसको भार सर्वसाधारणमाथि थोपर्ने नीति स्वीकार्य नहुने बताए । लोडसेडिङका बेला उद्योगलाई दिइएको विद्युत्को २३ अर्ब रुपैयाँभन्दा बढी बक्यौता उठाउन सरकार गम्भीर नभएको उनको आरोप छ ।

सरकारले माग सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रमबारे निर्णय गर्ने चेतावनी दिँदै घिसिङले ‘जनताको ढाड सेक्ने कर’ खारेज गर्नुपर्ने माग गरेका छन् ।