काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन् । सोमबार साँझ रास्वपाको केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा गुरुङले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको हो ।

कार्यक्रममा नागरिकले सरकारसँग जोडिएका आफ्ना समस्या, गुनासा र अपेक्षा गृहमन्त्रीसमक्ष सिधै राख्न पाउनेछन् । विशेषगरी गृह प्रशासन, सुरक्षा, सेवा प्रवाह तथा नागरिकका दैनिक सरोकारका विषयमा प्रत्यक्ष प्रश्न–जवाफ हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको पहिलो चरण नागरिक र गृहमन्त्रीबीच प्रत्यक्ष संवादका रूपमा सञ्चालन हुनेछ । त्यसपछि नागरिकबाट आएका प्रश्न, सुझाव र गुनासामाथि मन्त्री, सांसद तथा रास्वपाको केन्द्रीय नेतृत्वबीच समसामयिक एवं नीतिगत छलफल हुनेछ ।

रास्वपाले नागरिकबाट प्राप्त सुझावलाई पार्टी तथा सरकारको नीति निर्माण र कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पार्टीका अनुसार नागरिकका समस्या केवल सुन्ने नभई त्यसलाई नीतिगत बहसको आधार बनाउने प्रयासस्वरूप कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

गृहमन्त्री स्वयं नागरिकमाझ उपस्थित भएर प्रश्न सुन्ने भएपछि सोमबारको कार्यक्रमलाई सरकार र नागरिकबीच प्रत्यक्ष संवादको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।