काठमाडौं । तारकेश्वर–६ जरङ्खुको अष्टमान टोलमा घर निर्माणका लागि गरिएको जमिन कटान अहिले स्थानीयका लागि संकटको कारण बनेको छ । डोजर लगाएर जमिन खनेपछि पहिरो खस्न थालेको र करिब ५० घर प्रभावित भएको स्थानीयले बताएका छन् ।
पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा छन् । वर्षाको समयमा जमिन थप भासिने र पहिरो फैलिने डरले स्थानीय रातदिन त्रासमा बस्नुपरेको गुनासो गर्छन् ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा करिब दुई वर्षदेखि जमिन कटान तथा घर निर्माणको काम भइरहेको छ । तर निर्माणको गति सुस्त हुँदा खुला छाडिएको जमिनमा पानी पसेर पहिरोको जोखिम थप बढेको उनीहरूको भनाइ छ ।
समस्या देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई जानकारी गराए पनि जोखिम घटाउने गरी प्रभावकारी काम नभएको गुनासो गरेका छन् । उनीहरूले तत्काल प्राविधिक टोली पठाएर जमिनको अवस्था परीक्षण गर्न र पहिरो रोकथामका लागि आवश्यक संरचना बनाउन माग गरेका छन् ।
स्थानीयको प्रश्न छ-घर बनाउन काटिएको जमिनले बस्ती नै जोखिममा परेपछि यसको जिम्मेवारी कसले लिने ? अष्टमान टोलको घटनाले सहरी क्षेत्रमा घर निर्माणका नाममा गरिने जथाभावी जमिन कटान र त्यसको नियमनमाथि समेत प्रश्न उठाएको छ ।






































