काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको थियो ।


यससँगै लगातार दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


यता चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ घटेर ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


सुनको मूल्य लगातार उकालो लाग्दा नेपाली बजारमा बहुमूल्य धातुको कारोबार थप महँगिएको छ भने लगानीकर्ता तथा उपभोक्ताको चासोसमेत बढेको छ ।