काठमाडौं । जय नेपाल पार्टीका सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग करिब दुई घण्टा भेटवार्ता गरेका छन् । काठमाडौंको सोल्टी होटलमा शनिबार भएको भेटमा नयाँ पार्टी गठन, राजसंस्था–हिन्दु राष्ट्रको एजेन्डा र आगामी निर्वाचनबारे छलफल भएको राणाले बताएका छन् ।


हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा शाह र राणाबीच छुट्टै ‘वान टू वान’ वार्ता भएको हो । भेटमा राणाले जय नेपाल पार्टी गठन र यसको राजनीतिक उद्देश्यबारे जानकारी गराएका थिए । पूर्वराजाले पार्टीलाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिँदै शुभकामना दिएको राणाको भनाइ छ ।


राणाका अनुसार जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्ने कार्यदिशा लिएको विषयसमेत पूर्वराजालाई जानकारी गराइएको थियो । उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टी सहभागी हुने र उम्मेदवार छनोटको प्रक्रिया अघि बढिरहेको बताए ।


राप्रपाको महामन्त्री पद छाडेर नयाँ पार्टी गठन गरेका राणाले लामो समयपछि पूर्वराजासँग भेटवार्ता गरेका हुन् । भेटलाई पार्टीका नेताहरूले ‘फलदायी’ भनेका छन् । पछिल्लो राजनीतिक गतिविधिबीच राजसंस्था पक्षधर नयाँ राजनीतिक शक्तिका नेतृत्व र पूर्वराजाबीच भएको लामो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।