विराटनगर/ प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानिक कदमको विरोध गर्दै विराटनगरमा नागरिक समाजले प्रतिगमनको विरोधमा आन्दोलन घोषणा गरेको छ ।
प्राध्यापक, कानुन व्यावसायी, शिक्षक, पत्रकार, कलाकार, बुद्धिजिवी लगायतको एक सय १० सदस्य प्रतिगमन विरोधी प्रबृद्ध नागरिक समाज अभियान गठन गर्दै बुधबार सडकमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरिएको हो ।
विराटनगरको जनआन्दोलन चौकमा भएको सडक पत्रकार सम्मेलनमा बोल्दै प्रतिगमन विरोधी प्रबृद्ध नागरिक समाज विराटनगरका संयोजक तथा राजनीतिक बिश्लेषक प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेर गणतन्त्र र संघीयता संकटमा पारेकोले नसच्चिएसम्म निरन्तर संघर्षको अभियान जारी राख्ने बताए । उनले प्रतिगमन सच्याउनका लागि आवश्यक परे विराटनगरका प्रबृद्ध नागरिकहरु सडकमा उत्रिने बताए । उनले संसदिय दलमा आफु अल्पमतमा परेपछि आफनो पद जोगाउन मात्र ओलीले प्रतिनिधि सभा विघटन गराएकाले निर्वाचन गर्ने कुरा पुर्ण रुपमा जाली रहेको बताए ।
प्राध्यापक पोखरेलले केपी ओली सरकार प्रतिनिधि सभा विघटन भएपछि काम चलाउ भएको बताए । यस्तै प्रतिगमन विरोधी अभियानका सदस्य डा. पिके झाले प्रतिगमन विरोधी कदम नसच्चिएसम्म देशमा भयावह समस्या आउने भएकाले राष्ट्रहितका लागि बौद्धिक समाज चुप लागेर बस्न नसकी सडकमा आएर संघर्ष घोषणा गर्न बाध्य भएको बताए । उनले अनावश्यक रुपमा प्रम ओलीले देशलाई अस्थिरतातर्फ लगेकोले संविधानको सुरक्षाका लागि नागरिक समाजले निरन्तर खबरदारी गर्ने बताए ।
अधिवक्ता डा. मेदनी सेढाइले प्रतिनिधि सभा विघटन अधिकार संघीय गणतन्त्र नेपालको संबिधानमा कतै पनि उल्लेख नभएको बताए । उनले प्रम ओलीले अधिकार दुरुपयोग गरेर संबिधान धरापमा पारेको आरोप लगाए । ओलीले प्रतिगमन सच्चिदैन भनेर प्रम ओलीले अदालतमाथि दबाब दिन बन्द गर्न चेतावनी पनि उनले दिए । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले ओली जस्ता अदुरदर्शी सन्की र जोकर शासकले गर्दा देशको अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार धरापमा परेकाले संबिधानको सुरक्षा गर्न पत्रकारहरु पनि प्रतिगमन विरोधी आन्दोलनमा आएको बताए ।
प्रतिगमन विरोधी अभियानका लागि गठन भएको प्रबृद्ध नागरिक समाजले संबिधानको सुरक्षाका लागि निरन्तर चरणबद्ध कार्यक्रमहरु संञ्चालन गर्ने अभियानका सदस्य डा. उद्धव पोखरेले जानकारी दिए ।