काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न पूर्वसभापति शेरबहादुर देउवा समूहले अघि सारेको कानुनी प्रयासमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले बिहीबारका लागि पेसी तोकेको हो।

देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादको टुंगो नलागेसम्म महाधिवेशनका प्रक्रिया अघि बढाउन नहुने दाबी गरेको छ। उक्त विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यसको फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ।

कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ। यस्तो अवस्थामा सर्वोच्चको बिहीबारको सुनुवाइले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने वा प्रक्रिया थप अन्योलमा जाने भन्ने विषयमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

देउवा पक्षको रिटसँगै कांग्रेसको आन्तरिक विवाद अब पार्टीभित्रको राजनीतिक संघर्षबाट अदालतको बहससम्म पुगेको छ।