काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटी बैठक बस्नुअघि पार्टी पुनर्गठनसम्बन्धी कार्यदल र सचिवालय बैठक बस्ने तयारी भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । ओलीको निर्देशनपछि महासचिव पोखरेलले भने त्यसअघि कार्यदल र सचिवालय बैठक राखेर मात्र केन्द्रीय कमिटीमा जान उपयुक्त हुने प्रस्ताव गरेका छन् ।

पोखरेलले अध्यक्ष ओलीसँग भेटेरै पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक पहिले बस्नुपर्ने र त्यसपछि सचिवालय बैठक राखेर केन्द्रीय कमिटी बैठकमा जानुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले गुण्डुबाट फोनमार्फत महासचिव पोखरेललाई केन्द्रीय कमिटी बैठकको मिति तोकेर तयारी अघि बढाउन निर्देशन दिएका थिए । अब कार्यदल र सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने विषय टुंग्याउने तयारी छ । त्यसपछि भदौ २५ गतेदेखि तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्नेछ ।