काठमाडौं । सडकमा खाल्डाखुल्डी देखिएपछि तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ ।
खाल्डोबारे जानकारी पाएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स सम्बन्धित स्थानमै पुगेर मर्मत गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डको गोल्फुटार र हात्तीगौंडालगायत क्षेत्रमा एम्बुलेन्समार्फत सडक मर्मत गरिएको थियो ।
सडक मर्मतका लागि खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत उपकरण एम्बुलेन्समै जडान गरिएको छ । तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।
कार्यालयले सडक मर्मत आवश्यक पर्ने स्थानको सूचना लिन ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु’ नामक मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ । एपमार्फत आएको सूचनाका आधारमा तत्काल मर्मत टोली पठाइनेछ ।
काठमाडौंलाई पाइलट परियोजनाका रूपमा सुरु गरिएको यो अभियान प्रभावकारी भए अन्य सडक डिभिजनमा समेत विस्तार गर्ने तयारी छ । कार्यालयले सडक एम्बुलेन्स सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ ।





































