काठमाडौं । बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विवादले सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै किचलो चर्किएको छ । असन्तुष्ट आठ सांसदले असहयोग गर्ने संकेत गरेपछि मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मत नै संकटमा परेको छ ।मन्त्रालय बाँडफाँडमा आफूहरूमाथि विभेद भएको भन्दै नेकपाका असन्तुष्ट सांसदहरू सोमबारको प्रक्रियामा सहभागी भएनन् । उनीहरू बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची मंगलबार दिउँसो ४ बजेसम्मका लागि सारिएको छ ।

बागमती प्रदेशसभामा नेकपाका २६ सांसद छन् । तीमध्ये आठ सांसद असन्तुष्ट बनेपछि सरकारलाई विश्वासको मत जुटाउन चुनौती थपिएको हो ।असन्तुष्ट सांसदहरूले प्रदेशसभामा दोस्रो ठूलो शक्ति भएर पनि मुख्यमन्त्री नपाएको र मन्त्रालय भागबण्डामा समेत राप्रपाभन्दा कमजोर हैसियतमा राखिएको गुनासो गरेका छन् ।