काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै स्वास्थ्य परीक्षणको प्रतिवेदन संसद् सचिवालयमा बुझाएका छन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य समस्याका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएका हुन् ।
यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य प्रतिवेदनबिना कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाउने निर्णय गरेको थियो । कालो चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्यसम्बन्धी प्रमाणसहित सचिवालयलाई जानकारी गराउनुपर्ने समितिको निर्णय थियो ।
सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले छाउनीस्थित सैनिक अस्पतालमा गरिएको आँखाको परीक्षणको रिपोर्ट संसद् सचिवालयमा बुझाएका हुन् ।
साउन २२ गते गरिएको आँखाको परीक्षणमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न असहज हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको रिपोर्टमा उल्लेख छ । परीक्षणमा संलग्न लेफ्टिनेन्ट कर्णेल डा। सचित ढकालले उज्यालोमा असहजता हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले स्वास्थ्य प्रतिवेदन बुझाएसँगै संसद् बैठकमा उनको कालो चस्मा प्रयोगको विषयमा देखिएको विवादसमेत नयाँ चरणमा प्रवेश गरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाह कालो चस्मासहित उपस्थित हुने सम्भावना छ ।




































