काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले फोहोर व्यवस्थापनदेखि स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकारसम्मका विषय लिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने भएका छन् ।
काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटको समय माग गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
फोरमले फोहोर व्यवस्थापनलाई तीनै तहका सरकारको साझा जिम्मेवारी भन्दै दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
यसैबीच, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङबाट फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि भएको व्यवहारप्रति पनि फोरमले आपत्ति जनाएको छ । उक्त विषयमा समेत प्रधानमन्त्रीसँग भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
फोरमले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बेलादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल गर्दै आएको जनाएको छ । तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर नयाँ विकल्प खोज्ने विषयमा पनि पटक–पटक छलफल हुँदै आएको फोरमको भनाइ छ ।




































