काठमाडौं । बागमती प्रदेशमा राप्रपाका सांसदलाई पार्टीले कारबाही गरेको विषयमा प्रवक्ता ज्ञानेन्द्र शाहीले नै स्पष्ट पार्नुपर्ने अवस्था आएको छ।सांसद पदबाट हटाइएको चर्चा भइरहेका बेला शाहीले अहिलेसम्म राप्रपाका बागमती प्रदेशसभा सदस्य पदमुक्त नभएको दाबी गरेका छन्। उनका अनुसार पार्टीले प्रदेशसभा सचिवालयमा कारबाहीका लागि निवेदन मात्र दिएको हो।

शाहीले निवेदन बुझाउँदैमा सांसद पद स्वतः समाप्त नहुने बताएका छन्। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसदलाई पदमुक्त भएको प्रचार गर्नु गलत हुने उनको भनाइ छ।

‘कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन,’ शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले पार्टीकै जिम्मेवार व्यक्तिहरूले तथ्य नबुझी सूचना सार्वजनिक गर्दा भ्रम सिर्जना भएको भन्दै असन्तुष्टिसमेत जनाएका छन्। निर्वाचित सांसदको पद जनताको मतबाट प्राप्त भएकाले त्यसलाई राजनीतिक निर्णयभन्दा कानुनी प्रक्रियासँग जोडेर हेर्नुपर्ने उनको तर्क छ।

यससँगै बागमतीमा राप्रपाका सांसदलाई कारबाही गरिएको दाबी र उनीहरू अझै पदमा बहाल रहेको भनाइबीच नयाँ विवाद देखिएको छ। अब सम्बन्धित निकायबाट हुने औपचारिक निर्णयले सांसदहरूको वास्तविक हैसियत स्पष्ट गर्नेछ।