काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ को नाफाबाट लाभांश वितरण गर्न ६ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृतिका लागि आवेदन दिएका छन्।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भएमा सम्बन्धित बैंकका सेयरधनीले दशैँअघि नै लाभांश प्राप्त गर्ने सम्भावना रहेको छ।पूर्वस्वीकृतिका लागि आवेदन दिने बैंकहरूमा नबिल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले बैंकहरूको वित्तीय अवस्था, नियामकीय मापदण्ड तथा अन्य आवश्यक पक्षको मूल्याङ्कनपछि लाभांश वितरणका लागि स्वीकृति दिने व्यवस्था छ।

स्वीकृति प्राप्त भएपछि सम्बन्धित बैंकले साधारणसभा बोलाई लाभांश प्रस्ताव पारित गरी वितरण प्रक्रिया अघि बढाउनेछन्।हाल आवेदन दिएका बैंकमध्ये एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी ३८.३२ प्रतिशत रहेको छ। त्यस्तै, सानिमा बैंकको २०.८५ प्रतिशत, नबिल बैंकको १९.१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता रहेको छ।

राष्ट्र बैंकबाट समयमै स्वीकृति प्राप्त भएमा यी बैंकका सेयरधनीले यस वर्षको दशैँअघि नै लाभांश हात पार्ने अपेक्षा गरिएको छ।