काठमाडौं । नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित दोलखाको डाङडुङ्गेमा अघि बढाइएको फिल्म सिटी आयोजना डेढ दशकदेखि अधुरै छ।
वि.सं. २०६८र६९ तिर अवधारणा अघि सारिएको आयोजनामा हालसम्म करिब २७ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ। सडक तथा पहुँचमार्ग निर्माण, जग्गा व्यवस्थापन र प्रारम्भिक पूर्वाधारका काम भए पनि फिल्म सिटीका मुख्य संरचना भने अझै निर्माण हुन सकेका छैनन्।
वरिष्ठ कलाकार तथा आयोजनाका परिकल्पनाकार मदनदास श्रेष्ठले हलिउड र युनिभर्सल स्टुडियोबाट प्रभावित भएर नेपालमै आधुनिक फिल्म निर्माण केन्द्र बनाउने सोच अघि सारेका थिए। दोलखाको प्राकृतिक भूगोललाई चलचित्र छायांकन र पर्यटनसँग जोड्ने उद्देश्यले डाङडुङ्गे क्षेत्र छनोट गरिएको थियो।
आयोजनाका लागि २५ सय रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने सडक पहुँचसमेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय तहको भनाइ छ। तर स्टुडियो, छायांकन स्थल र अन्तर्राष्ट्रिय स्तरको उत्पादन केन्द्र निर्माण गर्ने मूल योजना अघि बढ्न सकेको छैन।
आयोजना सुस्त हुनुमा राजनीतिक परिवर्तन, सरकारको प्राथमिकता फेरिनु र पर्याप्त बजेटको अभावलाई मुख्य कारणका रूपमा स्थानीय तथा परिकल्पनाकारले औँल्याएका छन्। स्थानीय तहले भने मौसमभन्दा राजनीतिक इच्छाशक्ति र सरकारी प्राथमिकता नै ठूलो समस्या रहेको बताएको छ।
फिल्म सिटी बनेमा चलचित्र निर्माणसँगै होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा रोजगारी र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। कालिन्चोक, सैलुङ र दोलखा भीमेश्वरजस्ता पर्यटकीय क्षेत्रसँग जोडेर नयाँ पर्यटन सर्किट विकास गर्न सकिने सम्भावनासमेत स्थानीयले देखेका छन्।
परियोजनामा स्विट्जरल्यान्ड र चीनबाट लगानीको चासो देखिएको दाबीसमेत गरिएको छ। तर विदेशी लगानीलाई वास्तविक परियोजनामा बदल्न स्पष्ट लगानी मोडेल, सरकारी पहल र निरन्तर नीतिगत प्राथमिकता आवश्यक देखिन्छ।
जग्गा छ, सडक छ, करोडौँ खर्च भइसक्यो-तर १५ वर्षपछि पनि फिल्म सिटीको मूल संरचना छैन। अब नयाँ सरकारले यो अधुरो सपना कहिले पूरा गर्छ भन्ने प्रश्न दोलखाबासीको छ।






































