धनगढी / आगामी विद्यालय शिक्षा ऐनलाई थप प्रभावकारी बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा सहभागी हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार धनगढी जाने कार्यक्रम रहेको छ।मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत धनगढीमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच प्रत्यक्ष छलफल र अन्तरक्रिया गरिनेछ।

संवादका क्रममा विद्यालय शिक्षामा देखिएका समस्या, सुधारका सम्भावित उपाय तथा नयाँ शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयमा सहभागीबाट सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशस्तरबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐनको मस्यौदा तथा समग्र शिक्षा सुधारसम्बन्धी नीति निर्माणमा समेट्ने लक्ष्य राखिएको छ।

यही उद्देश्यसहित मन्त्रालयले देशभरका शिक्षा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै राय–सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ।