काठमाडौं / नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई वैदेशिक रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, व्यापार, उत्पादन र उद्यमशीलतामा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र कार्यसंस्कृतिलाई स्वदेशको आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रिटर्नी उद्यमीलाई नेपालको औद्योगिक तथा आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्नुपर्ने बताए। उनले कोरियाको औद्योगिक विकासबाट नेपालले प्रविधि, गुणस्तर, अनुशासित कार्यसंस्कृति र निर्यातमुखी उत्पादनका क्षेत्रमा धेरै कुरा सिक्न सक्ने उल्लेख गरे।

उनले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे। साथै, साना लगानीकर्ताको पुँजी एकीकृत गरी ठूला परियोजनामा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल डेभलपमेन्ट कम्पनीमार्फत रिटर्नी उद्यमीलाई लगानीका अवसर उपलब्ध गराउन सकिने बताए।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–युङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर कङ मू–हुन, एफएनसीसीआईका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–कोरिया आर्थिक सहकार्यलाई थप विस्तार गर्न आवश्यक नीतिगत, संस्थागत र वित्तीय सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संघका पदाधिकारीहरूले कोरियाबाट फर्किएका नेपालीको सीप, पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उत्पादन र उद्यममा परिचालन गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था तथा विकास साझेदारबीच समन्वय आवश्यक रहेको बताएका छन्।कार्यक्रमको निष्कर्षमा नेपाल–कोरिया आर्थिक साझेदारीलाई दीर्घकालीन र संस्थागत बनाउँदै रिटर्नी उद्यमीलाई लगानी, उत्पादन र रोजगारी सिर्जनाको केन्द्रमा राख्नुपर्नेमा सहभागीहरूले साझा धारणा व्यक्त गरेका छन्।