काठमाडौं / प्रदर्शनको एक महिना पुग्न लाग्दा पनि नेपाली फिल्म ‘गौंथली’प्रति दर्शकको आकर्षण घटेको छैन।

साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हलमा उत्साहजनक अकुपेन्सी कायम राख्दै व्यावसायिक रूपमा बलियो प्रदर्शन गरिरहेको छ। अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको क्रममा थुप्रै नेपाली फिल्मको लाइफटाइम व्यापारलाई समेत पछाडि पारिसकेको छ। चलचित्र विकास बोर्डको ‘सिनेपा बक्स अफिस’ विवरणअनुसार बिहीबार दिउँसोसम्म ‘गौंथली’ले २१ करोड ४२ लाख २१ हजार रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ७ लाख ८८ हजारभन्दा बढी टिकट बिक्री भएको बक्स अफिस स्रोतले जनाएको छ।

व्यापारको यही गतिका कारण फिल्म नेपाली चलचित्रको सर्वाधिक कमाइ गर्ने सूचीमा दोस्रो स्थानमा पुगेको हो। यसअघि यो स्थानमा रहेको ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको व्यापारलाई ‘गौंथली’ले उछिनेको छ। नेपाली फिल्ममध्ये सर्वाधिक कमाइको कीर्तिमान भने ८८‘पूर्णबहादुरको सारंगी’८८को नाममा छ। उक्त फिल्मले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको थियो।‘गौंथली’ले यसअघि ‘छक्का पञ्जा’का विभिन्न श्रृंखला, ‘जारी’, ‘जेरी अन टप’, ‘परान’ र ‘१२ गाउँ’ लगायतका फिल्मको व्यापारलाई समेत पछाडि पारिसकेको छ।

फिल्मको व्यापारिक गति कायम रहे आगामी दिनमा यसको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ। आगामी अद्यावधिक बक्स अफिस विवरणमा फिल्मको व्यापार २३ करोड रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

शिक्षादेखि पारिवारिक सम्बन्धसम्मको कथा

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ले मनोरञ्जनसँगै शिक्षाको महत्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ। फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्। निरन्तरको दर्शक साथका कारण ‘गौंथली’ अहिले नेपाली फिल्म बजारमा चर्चाको प्रमुख विषय बनेको छ।