काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा र बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्।
नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था, सेवा विस्तार तथा नीतिगत सुधारका विषयमा सरोकारवालासँग भएको छलफलमा उनले समावेशी शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिने स्पष्ट पारे। शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार, गैरसरकारी संस्था, मनोवैज्ञानिक, थेरापिस्ट, विशेष शिक्षा विज्ञ, अपाङ्गता क्षेत्रमा कार्यरत संस्था तथा अभिभावक समूहका प्रतिनिधिको सहभागिता रहेको थियो।
छलफलमा न्यूरोविकाससम्बन्धी अवस्थाको प्रारम्भिक पहिचान, उपचार, थेरापी, पुनर्स्थापना सेवा, समावेशी शिक्षा, दक्ष जनशक्ति उत्पादन, पूर्वाधार विकास तथा देशभर सेवा विस्तारका विषयमा सुझाव आदानप्रदान गरिएको थियो। मन्त्री पोखरेलले शिक्षा ऐन र राष्ट्रिय पाठ्यक्रम प्रारूप संशोधनको प्रक्रियामा प्राप्त सुझावलाई समेट्दै समावेशी शिक्षालाई थप प्रभावकारी बनाइने बताए।
नीति तथा कानुन निर्माणका क्रममा सरोकारवालासँगको समन्वयलाई निरन्तरता दिइने उनको भनाइ थियो। छलफलका सहभागीहरूले अटिजम तथा अन्य न्यूरोविकाससम्बन्धी अवस्था भएका बालबालिकाका लागि शिक्षामा सहज पहुँच, आवश्यक सेवा विस्तार तथा भविष्यमा रोजगारीका अवसर सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।
शिक्षा मन्त्रालयले प्राप्त सुझावका आधारमा समावेशी शिक्षा, बाल मानसिक स्वास्थ्य सेवा तथा विशेष शिक्षासम्बन्धी नीतिगत व्यवस्था थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।






































