काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन तीनदिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका अनुसार साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा प्रशिक्षण सञ्चालन हुनेछ। कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरू सहभागी हुनेछन्। रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालका अनुसार प्रशिक्षण आवासीय (क्लोज क्याम्प) स्वरूपमा सञ्चालन गरिनेछ। सांसदहरूको संसदीय कार्यसम्पादन, जिम्मेवारी र प्रभावकारी भूमिकालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन्।

प्रशिक्षणका लागि प्रशिक्षकहरूको अन्तिम टुंगो लगाउने प्रक्रिया जारी रहेको पनि उनले जानकारी दिइन्। रास्वपाले यसअघि पनि आफ्ना सांसदहरूका लागि यस्तै प्रकृतिका दुई वटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। पार्टीले संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नियमित रूपमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।