काठमाडौँ । नेपाली कांग्रेसभित्र इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई पूर्वमहामन्त्री डा। शशांक कोइरालाले निम्तो दिएका छन् । बुधबार बिहान गल्फुटारस्थित खड्का निवासमा भएको भेटवार्तामा कोइरालाले साउन २९ गतेदेखि हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।

भेटमा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेलामा सहभागी हुन गरिएको आग्रहप्रति खड्का सकारात्मक देखिएका छन् ।

इतर समूहको राष्ट्रिय भेलाको आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले खड्कालाई समेट्न गरेको पहललाई कांग्रेसभित्रको समूहगत समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेलाअघि शशांकको सक्रियता, पूर्णबहादुरको सकारात्मक संकेत—कांग्रेसभित्रको शक्ति समीकरणमा नयाँ संवादको संकेत देखिएको छ ।