जनकपुरधाम । मिटरब्याजसम्बन्धी मुद्दामा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका पीडितमध्ये एक महिलाले धनुषा जिल्ला अदालतको मुख्य गेटअगाडि आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर उद्धार गरेको हो ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालतबाहिर प्रदर्शनमा थिए । साहद्वयमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा रहेकी रजकले अचानक आत्मदाहको प्रयास गरेकी हुन् ।

प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरेपछि घटना गम्भीर बन्नबाट रोकिएको प्रहरीले जनाएको छ ।अदालतको मुख्य गेटमै भएको घटनाले मिटरब्याजपीडितको आक्रोश र न्याय प्रक्रियाप्रतिको निराशा फेरि सतहमा ल्याएको छ । घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

अदालतभित्र बहस चल्दै थियो, बाहिर पीडितको आक्रोश चरममा पुग्यो– न्यायको माग कति गहिरो संकटमा पुगेको छ भन्ने यो घटना त्यसकै गम्भीर संकेत बनेको छ ।