रौतहट । लालबकैया खोलामा नुहाउन तथा पौडी खेल्न गएका तीन बालबालिकामध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार डुबेर बेपत्ता भएका १० वर्षीय महमद रमतुलाह, १० वर्षीया सबनम खातुन र १० वर्षीया रौशन खातुनमध्ये रमतुलाह र सबनमको शव बुधबार बिहान फेला परेको हो ।
प्रहरीका अनुसार दुवैको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा भेटिएको हो । करिब २०० मिटरको दूरीमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।एउटै खोलामा तीन बालबालिका बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ । दुई बालबालिकाको शव भेटिए पनि रौशनको अवस्था अझै अज्ञात छ । उनको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।






































