काठमाडौं / बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा पहिलोपटक भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्ने तयारी तीव्र पारिएको छ।

नेपाल टेलिकमले ४जी सेवा सञ्चालनका लागि आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत जडानस्थल नजिक पुर्‍याएको छ। भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण स्थलमार्गबाट सामग्री ढुवानी सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरिएको हो। प्रतिकूल मौसमका कारण केही दिन ढिलाइ भए पनि आवश्यक उपकरण अन्ततः बडीमालिका क्षेत्रमा पुर्‍याइएको नेपाल टेलिकमले जनाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि मन्त्रालय र नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक तयारीलाई तीव्रता दिएका हुन्। स्थानीय तहसँग आवश्यक समन्वय गर्दै जडानस्थल, जनशक्ति व्यवस्थापन र पूर्वाधार तयारीको काम अघि बढाइएको छ। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार हेलिकप्टरबाट सामग्री पुर्‍याइए पनि जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने चुनौती अझै बाँकी छ।

उच्च हिमाली क्षेत्रमा प्राविधिक टोली परिचालन र सामग्री ढुवानी दुवै जटिल रहेकाले स्थानीय तहसँग सहकार्य भइरहेको उनले बताए। उनका अनुसार सम्पूर्ण सामग्री जडानस्थलमा पुगेपछि करिब पाँच दिनभित्र ४जी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा हालसम्म भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध नहुँदा स्थानीय बासिन्दा, तीर्थयात्री र पर्यटकले सञ्चार सेवामा कठिनाइ भोग्दै आएका छन्।

नयाँ सेवा सञ्चालन भएपछि सम्पर्क, सूचना आदानप्रदान तथा आपत्कालीन सञ्चारमा सहजता आउने अपेक्षा गरिएको छ। नेपाल टेलिकमले बडीमालिकासँगै सगरमाथा आधार शिविरलगायत अन्य उच्च हिमाली क्षेत्रमा पनि ४जी सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ। यसअघि डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा समेत ४जी सेवा सञ्चालनमा आइसकेको छ।

सरकारले दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। यही योजनाअनुसार देशभर नयाँ मोबाइल टावर निर्माण, सेवा विस्तार तथा गुणस्तर सुधारका कार्यक्रमलाई तीव्र बनाइएको नेपाल टेलिकमले जनाएको छ।