काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार तथा ज्यालादारी श्रमिकहरू रोजगारी सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन्। उनीहरूले सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्दै आफूहरूको माग तत्काल सम्बोधन गर्न व्यवस्थापनमाथि दबाब बढाएका छन्।करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई तत्काल पुनः काममा फर्काउनुपर्ने मुख्य माग अघि सारेको छ।
समितिका अनुसार लामो समयदेखि परिषद्मा काम गर्दै आएका श्रमिकको रोजगारी नै अनिश्चित बनेपछि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो। उनीहरूले आफूहरूलाई हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था गर्नुपर्ने र सेवा–सुविधामा विभेद गर्न नहुने माग गरेका छन्। श्रमिकहरूले करार कर्मचारीलाई दसैँ पेस्की, पोसाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन्। मासिक ज्यालादारी कर्मचारीलाई पनि यथावत् काममा निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ।
आन्दोलनकारीहरूले आफूहरूको आन्दोलनकै कारण कसैमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न व्यवस्थापनलाई चेतावनी दिएका छन्।उनीहरूले माग पूरा गर्ने विषयमा केवल मौखिक आश्वासन नभई लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने बताएका छन्।
व्यवस्थापनसँग टकराव बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संघर्ष समितिले वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न तयार रहेको जनाएको छ। तर माग सम्बोधन नभएसम्म खबरदारी र दबाबका कार्यक्रम जारी राख्ने समितिको चेतावनी छ। सीटीईभीटीमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालनमा प्रत्यक्ष योगदान दिइरहेका करार तथा ज्यालादारी श्रमिकको रोजगारी सुरक्षाको विषय अहिले व्यवस्थापनका लागि समेत चुनौती बनेको छ।






































